
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १३ असोज । ताप्लेजुङ (पाथीभरा) म्याराथन दौडको उपाधी दलबहादुर कुबरले हात पारेका छन् । दौडमा सहभागी १३४ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दूरी ४ घण्टा १२ मिनेट २७ सेकेण्डमा पार गरेर कुबर विजयी भएका हुन् ।
तातोपानी गाउँ पालिका ७ जुम्ला घर भएका दलबहादुर कर्णाली स्पोटिङ क्लबमा आबद्ध भएको बताए । दलबहादुरले म्याराथनमा भाग लिएको पहिलो पटक भने होईन उनले जुम्ला म्याथुन ५० किलोमिटरमा दोश्रो र रुकुम म्याराथन ६५ किलोमिटरमा पहिलो भएका रेकर्डहरु छन् ।
पहिला ताप्लेजुङको भूगोल कहिल्यै नटेकेका कुबर तीन दिन अगाडीमात्र ताप्लेजुङ आईपुगेको बताउछन् । ताप्लेजुङ म्याराथनमा पहिलो हुने कुबरले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैया पुरस्कार प्राप्त गरेका छन् ।
२०६३ साल देखि शुरुभएको पाथीभरा म्याराथुन तथा पर्यटन महोत्सब यस बर्ष दशैको अवसर पारेर गरिएको हो । सो म्याराथन दौडमा त्रिभुवन आर्मि क्लबका खगेन्द्रबहादुर भाट दोस्रो हुन सफल भएका छन् । उनले सो दूरी ४ घण्टा १२ मिनेट ५७ सेकेण्डमा पूरा गरेका थिए । शिखर नगरपालिका डोटी घर भई शिबदल गण गजुरीमा कार्यरत भाट सेनाको आन्तरीक प्रतिस्पर्दा बाहेक अन्य सहभागि नभएको बताउछन् । ३५ बर्षीय भाटले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै निर्धारित दूरी ४ घण्टा १२ मिनेट ५८ सेकेण्डमा पार गर्दै राजन मेयोङबा तेस्रो हुन सफल भएका छन् । फिदिम नगरपालिका ११ घर भएका २३ बर्षका मेयोङबा त्रिभुवन आर्मि क्लवमा आबद्ध छन् । रणशेर गण फिदिममा कार्यरत मेयाङबो यस भन्दा अगाडी पनि मुन्दुम टेलरमा दोश्रो स्थान हासिल गर्न सफल भएका थिए । तेश्रो हुने मेयोङबाले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार जितेको म्याराथन खेल सम्योजक यीगेन्द्रकुमार गुरुङले बताउनुभयो ।
पाथीभरा क्षेत्र विकास समिति, भीमकाली गुल्म तथा पाथीभरा देवी मन्दिर क्षेत्र तथा संरक्षण सम्बद्धन समितिको आयोजना मा भईरहेको ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सबको तेश्रो दिन आज म्याराथन भएको हो ।
म्याराथन ताप्लेजुङको फुङलिङ बजारको पाथीभरा चौक देखि शुरुभएर उकालीपानी, सुकेटर, देउराली, काफ्लेपाटी, ठुलो फेदी हुदै पाथीभरा देवीको मन्दिर (३७९४ मिटर) मा पुगी जिल्लाको फुङलिङबजार कै तोक्मेडाडामा आएर टुङ्गीएको समेत सम्योजक गुरुङले बताउनुभयो ।
हाफ म्याराथनको उपाधी शेर्पाले हात पारिन
पाथीभरा महिला हाफ म्याराथन प्रतियोगीताको उपाधी ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ की साम्पाल्मु शेर्पाले हात पारेकी छन् । निर्धारीत दुरी २१ किलोमिटर शेर्पाले ३ घण्टा ४१ मिनेट ०९ सेकेन्डमा पार गर्दै प्रथम भए कि हुन् । प्रथम हुने शेर्पाले ८१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाणपत्र प्राप्त गरेकी छन् ।
भोजपुरकी छेम्बिमाया राई दोश्रो भएकी छन् । राईले निर्धारीत दुरी ४ घण्टा ९ मिनेट ५१ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हात पार्न सफल भएको गुरुङले बताउनुभयो । दोश्रो हुने राईले ५१ हजार १ सय ११ का साथ प्रमाणपत्र प्राप्त गरेकी छन् ।
त्यस्तै मिक्वाखोला गाउँपालिका ३ लिबाङकी १६ बर्षकी पेम्बालामु शेर्पाले जीतेकि छन् । कक्षा १० मा अध्ययनरत शेर्पाले ४ घण्टा ३१ मिनेट ५४ सेकेन्डमा पार गरेर तृतीय हुन सफल भएकि छन् । तेश्रो हुने् शेर्पाले नगद ३१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाण्पत्र प्राप्त गरेकि छन् ।