केशबप्रसाद भट्टराई
ताप्लेजुङ, ११ असोज । ताप्लेजुङको पूर्वी गाउँपालिकाहरुको सिमानामा रहेको फावाखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । पुल सम्पन्न भएपछि अव अर्को जिल्ला घुमेर जानुपर्ने बाध्यता हटेको छ । पुल नहुदा पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुदै काबेली खोला तरेर घुमेर जानुपर्ने बाध्यता थियो । अव भने ताप्लेलुङ जिल्लाबाट नै सिरिजंघा पुगिने छ ।


आफ्नै जिल्ला प्रयोग गरी सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकासम्म जान सकिने बाटो फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाको संगमस्थल फावाखोलामा पक्की पुल बनेको हो । देउराली–सिम्बु–कुञ्जारी–सिकैचा सडक अन्तरगत फावाखोलामा निर्मित पक्की पुलको प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गर्नुभयो ।
ताप्लेजुङका दुईपालिका फुङलिङ र सिरिजङ्गा जोड्ने मार्ग मात्र नभई ताप्लेजुङको आफ्नै भूगोलभित्रको मार्गको रुपमा रहने मन्त्रि हाङ्गामले बताउनुभयो । ‘पुल मात्र बनेको छैन, यसले जिल्लाको समग्र यातायात सरल समेत भएको छ’ पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले बताउनभयो ।


यो ठाउँमा पुल नहुँदा अहिलेसम्म सिरिजङ्गा र सिदिङ्वा गाउँपालिका आउँदा–जाँदा पाँचथरको काबेली–गणेशचौक–थर्पु हुँदै ताप्लेजुङको अन्य भूगोलसम्म आवतजावत गर्दै आएइको थियो । फुङलिङको देउराली–लालीखर्क–तेम्बेवा हुँदै जाने सडकको अवस्था राम्रो भए सिदिङ्वा र सिरिजङ्गाको वल्लोभाग बाहेक अन्यत्र जान अब यही मार्ग सकिनेछ ।
‘सिरिजङ्गातर्फको भाग बरु ठिकै देखिन्छ, फुङलिङतर्फको भाग पनि राम्रो बनेमा यो सडक सिरिजङ्गा गाउँपालिकाका विभिन्न स्थान पुग्न छोटो मार्ग हो’ सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका वडाध्यक्ष नेत्र बोखिमले बताउनुभयो ।
प्रदेश सरकार अन्तरगत रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पुल निर्माणका लागि २०७६ साल असोज १४ गते रायमाभी–हिमालयन÷जेभीसंग सम्झौता अनुसार पुलको निर्माण कार्य निर्धारित मिति अगावै सम्पन्न भएको हो । २०७९ साल असार २९ गते सम्पन्न भएपनि बर्खाको समयका कारण उद्घाटन कार्य भने केही पछि गरिएको रेड्डीले जानकारी दिनुभयो ।


भ्याटसहित ५ करोड ५७ लाख ८८ हजार २ सय ६३ रुपैयाँ कूल लागत रहेको २६.२० मिटर लम्बाइ रहेको पुलको दुबैतर्फ मानिस आवागमन गर्न सकिने ठाउँ समेत रहेको छ । पुल कूल बजेट भन्दा झण्डै १६ लाख रुपैयाँ कममै निर्माण सम्पन्न भएको छ । निर्माण कम्पनी रायमाभी हिमालयन÷ जेभीका प्रतिनिधि इन्द्र केदेमले निर्धारित बजेट र समयावधि भन्दा अघि नै कार्य सम्पन्न गर्न सक्नुमा आफ्नो टिमको निरन्तरको मेहनेत र जोडबल रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय