काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आइतवारका लागि सरेको छ ।

अदालतमा दर्ता भएको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी पाँच वटै रिट आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । तर, सुनुवाइ आउँदो आइतवारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

अधिवक्ताहरु सुनिल रञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले दायर गरेका छुट्टाछुट्टै रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ ।

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको उल्लंघन गरेको रिटमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितल निवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको थियो । राष्ट्रपतिलाई पहिलो पटक विधेयक फिर्ता गर्ने अधिकार भए पनि दोस्रो पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको छैन । उज्यालोवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय