केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ५ असोज । हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा अझै पनि खच्चड, चौंरी र याक मार्फत खाद्यान्न सामग्री ढुवानी गरिदै आएको छ । अहिले पनि सडक सञ्जाल नजोडिएको र यातायातको पहुँच नपुगेका क्षेत्रहरुमा पशुमार्फत खाद्यान्न सहित उपभोग्य सामग्री ढुवानी गरिदै आएको हो ।

दशैं तथा विभिन्न चाडहरु नजिकिए सगै स्थानीय वाँसीले खाद्यान्न सहितका आवश्यकीय उपभोग्य सामग्रीहरु खच्चड र चौंरी तथा याकलाई बोकाएर ढुवानी गरिरहेका छन् । मामाङ्खेमा अहिले सम्म सडक पुगेको छैन । सडकले नछोएका ठाउँहरुमा पशुमार्फत ढुवानी गराउनु पर्ने बाध्यता छ ।

जिल्लाको सबै भन्दा टाढा रहेको हिमाली गाउँ फक्ताङलुङ गाउँपालिका–७ को याङमा साथै ओलाङचुङगोला, घुन्सा क्षेत्रमा साथै मिक्वाखोला गाउँपालिका–५ पापुङ, तोक्पेगोला क्षेत्रमा यातायातका साधन सञ्चालन नहुँदा खच्चड चौंरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । पहिले देखि नै खच्चडलाई बोकाएर आवश्यकीय सामग्री ढुवानी गर्दै आएको मामाङ्खेको लक्ष्मी मा.वि.का प्रधानाध्यपक लक्ष्मी माबोले बताउनुभयो ।
सडक र यातायातको पहुँच नभएपछि खच्चर मार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको माबोले बताउनु्भयो । चाडपर्व नजिकिएसँगै यतिबेला स्थानीयवासीले खच्चड, चौरी र याकलाई बोकाएर धमाधम सामग्री ढुवानी गर्दै आएका फक्ताङलुङ–७ का स्थानीयवासी तेन्जीङ शेर्पाले बताउनुभयो ।

स्थानीय उपभोक्ता तथा गाउँका व्यवसायीले खच्चड, चौरी, याक र भरीया मार्फत पिठीउमा बोकाएर उपभोग्य सामग्री ढुवानी गर्दै आएको शेर्पाले बताउनुभयो । फक्ताङलुङ–६ लेलेप सम्म यातायातका साधनले खाद्यान्न सामग्री ढुवानी गर्ने गर्दछन् । त्यसपछि भने दुई तीन दिन पैदल र्मागमा खच्चड, चौरी र याकमार्फत ढुवानी हुने गर्दछ ।कतिपय सडकको ट्याक पुगेको ठाउँसम्म ट्याक्टर मार्फत सामान ढुवानी गरेपछि खच्चडलाई बोकाएर गाउँसम्म पु¥याउने गरिएको याम्फुदिनका सोम राईले बताउनुभयो ।
केही सीमित सामग्री भरियालाई बोकाएर पनि ढुवानी गर्ने गरिएको घुन्साका बासिन्दा टाँसी तेन्जीङ शेर्पाले बताउनुभयो । पछिल्लो समय भरिया पाउन छाडेकाले उपभोग्य सामग्री ढुवानीमा खच्चरकै प्रयोग हुने गरेको उनीहरुले बताएका छन् ।
यता भरियाभन्दा खच्चरमार्फत नै सामग्री ढुवानी गर्दा छिटो हुने र ढुवानी खर्च पनि केही सस्तो हुने स्थानीयहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय