
ताप्लेजुङ, ३ भाद्र । संकाटापन्न सूचीको रेडपाण्डा र लोपोन्मुख चितुवाको छालासहित ताप्लेजुङका ३ युवक भारतमा पक्राउ परेका छन् ।
ताप्लेजुङका चन्द्रप्रकाश चेम्जोङ (३५), गोविन्द साम्बा लिम्बु (२५) र याक्पु शेर्पा (३७) लाई जल्पाइगुडी जिल्लाको वैकुण्ठपुर वन डिभिजनले पक्राउ गरेको हो । रेन्जर अधिकृत सञ्जय दत्तासहितको टोलीले एउटा चितुवाको र दुईवटा रेड पाण्डाको छालासहित तीन नेपालीलाई न्यू जल्पाइगुडीनजिकैबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । तीनै जना अभियुक्तलाई बुधबार जलपाइगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । यी तीनै जना नेपाली मोटरसाइकलमा सवार थिए । प्रहरीले गोप्य सूचनाका आधारमा उत्तरबङ्गाल विश्वविद्यालय, बागडोग्रानजिकैबाट पछ्याएको थियो । प्रहरीले पछ्याएको सुइँको पाएपछि उनीहरु भागेर न्यू जल्पाइगुडी पुगेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरू चितुवा र रेडपाण्डाको छाला चीन तस्करी गर्ने योजनामा रहेको बताइएको छ । ‘भुटानका तस्करमार्फत छालाहरु चीन पठाउने उनीहरुको योजना थियो,’ रेन्जर दत्ताले भने,‘ आरोपित व्यक्तिले ३० लाख रुपैयाँमा भारत–भुटान सीमा क्षेत्रमा छाला पुर्याउने गरेको र सिलिगुडी कोरिडोरबाट चीन तस्करी हुने गरेको खुलेको छ ।’ जनावरका अंग र छालाको दर भाउ निश्चित भएपछि नेपाली बिचौलियाहरुले भुटानका तस्करलाई पठाउँदै आएका थिए । भारत–भुटानको सीमावर्ती सहर फुन्छोलिङमा मोलमोलाईपछि सामान आदानप्रदान हुँदै आएको वन कार्यालयको दाबी छ । चितुवा र रेडपाण्डाको छाला भुटानसम्म पुर्याउन उनीहरूले करिब ३० लाख भारुमा माग गरेको बुझिएको छ ।
यसपटक ताप्लेजुङको मिख्वाखोला क्षेत्रवाट चितुवा र रेडपाण्डाको छाला संकलन गरी अन्तर्राष्ट्रिय सिमाना नाघेर भारत पुर्याएका थिए । केही समयअघि उनीहरुले पानीटंकीमा छाला लुकाएर राखेको बुझिएको छ । रेड पाण्डाको छाला भारतमा पहिलो पटक बरामद गरिएको वनको दाबी छ । वैकुण्ठपुर वन महाशाखाका डीएफओ हरिकृष्णनले आरोपीहरूलाई भारतको वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ५१ अन्तर्गत कारबाही गरिने जनाए ।