
देवराज गुरुङ
ताप्लेजुङ, ६ जेठ । जिल्लाको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडाको हटियामा संकलन गरिने कर आउँदो श्रावणदेखि हटाउने भएको छ । फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले शुक्रबार आयोजित सफत ग्रहण कार्यक्रममा २०७९ श्रावण १ गतेदेखि हटियामा लगाइएको कर हटाउने जानकारी गराएका छन् । उद्योग वाणिज्य सँघको हलमा उपप्रमूख तथा वडाअध्यक्ष र सदस्यलाई सफत गराएपश्चातको मन्तव्यमा बोल्दै नगरप्रमूख मादेनले कर हटाउने जानकारी गराएका हुन् ।
नगरप्रमूख मादेनले भने,“डोकोमा बोकेर ल्याएका साग चिसो भुँईमा बेचेर कर तिराउनु ठीक होइन् । बरु हटियामा पूर्वाधार बनाऔ । आर्गनिक तरकारी विक्रीमा जोड गरौ ।” नगरप्रमूखको निर्णयप्रति जनप्रतिनिधीको तालीले स्विकार गरेको आभास गराएको थियो । यसैबिच कर्मचारी र जनप्रतिनिधबिचको सम्बन्ध नङ र मासुझै हुनुपर्नेमा उनले जोड दिए । उनले भने,“जनप्रतिनिधी र कर्मचारी शासक होइन,सेवक हो । दुवै मिलेर जनताको सेवा गर्न प्रतिबद्ध हुनुपर्छ ।” आगामी आ.व. २०७९÷८० का लागि नीति तथा कार्यक्रम ल्याउँदा नगरको आवधिक योजना,आफ्नो घोषणापत्र र नगरबासीको मागलाई मध्यनजर गरेर कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । नगरप्रमूख मादेनले भने,“टुक्रे योजना होइन । उपलब्धिमूलक योजना छनौट गरौ ।”
सदरमुकामसँग जोडिएका वडाका मुख्य सडकको स्तरोन्नती गरि बाह्रै महिना गाडी गुड्न मिल्ने गरि काम गर्ने भएका छन् । नगरमा विगतका जनप्रतिनीधिले गरेका राम्रा कामको निरन्तरता र नयाँ तथा रचनात्मक कामलाई प्राथमिकता दिइने उल्लेख गरेका छन् ।