डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि रमेश लिम्बूलाई

ताप्लेजुङ – ताप्लेजुङमा आयाेजित डोको बोकेर कुद्ने (डोको क्यारी रन) प्रतियाेगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । उनले निर्धारित दुरी १३ किलोमिटर १ घण्टा ४ मिनेट ३१ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

त्यस्तै यस प्रतियोगितामा प्रकाश लिम्बू दोस्रो भएका छन् । उनले निर्धारित समय १ घण्टा ४ मिनेट ४४ सेकेन्डमा पार गरेर दोस्राे हुन सफल भएका छन् ।  त्यस्तै १ घण्टा ५ मिनेट ३०  सेकेन्डमा पार गरेर चन्द्रबहादुर कार्की तेस्रो हुन सफल भएका छन् ।

दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन आज शनिबार प्रतियाेगिताकाे आयाेजना गरिएकाे हाे । डोकोमा १५ किलो बालुवा बोकेर शुकेटर नजिकै रहेको पयुङबोटे पुगेर फेरि सदरमुकाम फर्किनुपर्ने रहेको थियो ।

प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र पाउने आयोजक समितिका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो ।