कञ्चनजंघा सेसेलुङ् गोल्डकप प्रतियोगिताको उपाधी चक्रघट्टी सुनसरीले हातपा¥यो

इपूर्वपोष्ट
ताप्लेजुङ, ११ पुस । ताप्लेजुङमा आयोजना गरिएको प्रथम कञ्चनजङ्घा ‘सेसेलुङ गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लबले हात पारेको छ । बुधबार भएको फाइनलमा मोरङको सगरमाथा युथ क्लबलाई पराजित गर्दै चक्रघट्टीले गोल्डकप उपाधि हात पारेको हो ।
निर्धारित समयमा भएको खेलमा १–१ बराबरी गोल भएपछि प्रतियोगिताको छिनोफानो पेनल्टी सुटआउट मार्फत गरिएको हो । पेनल्टी सुटआउटमा ४–३ को गोलअन्तरले सगरमाथालाई हराउँदै चक्रघट्टीले उपाधि हात पार्न सफल भएको हो । प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल उपाधिसँगै चक्रघट्टीले तीन लाख दुई हजार ८० रुपियाँ राशिको नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा उपविजेता बनेको सगरमाथा युथ क्लबले एक लाख ५१ हजार ८० रुपियाँ नगद तथा मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । निर्धारित समयमा सगरमाथाका सुशील राई पहिलो हाफ र चक्रघट्टीका सञ्जय प्रधानले दोस्रो हाफमा गोल गर्दै खेललाई बराबरीमा पुर्याउनुभएको थियो । गत बुधबार देखि सुरु भएको अन्तर–जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । सेमिफाइनलमा पाँचथर फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लब र तेह्रथुमको आठराई गाउँपालिकालाई हराउँदै चक्रघट्टी फुटबल क्लब फाइनलमा पुगेका थिए ।
यता फाइनल अन्तर्गत बुधबार भएको खेलमा सगरमाथा युथका सुशील राई म्यान अफ दि म्याच घोषित हुनुभयो । यस्तै उत्कृष्ट गोलरक्षक चक्रघट्टीका असिव राई, हाइस्कोरर आकाश राई र सर्वश्रेष्ठ खेलाडी सोही टोलीका सञ्जय प्रधान हुनुभयो । उहाँहरु सबै विधाका खेलाडीलाई जनही पाँच हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेले जानरकारी दिनुभयो ।
गोल्डकपको उपाधि विजेता तथा उपविजेतालाई पुरस्कार राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतिनिधिसभा सदस्य उर्मिला थेबे लिम्बू, प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू र सञ्चालन समिति संयोजक थेबेले संयुक्तरुपमा वितरण गर्नभएको थियो । गोल्डकप प्रतियोगिता भने चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुटबल क्लब र ङँ वोरक सङजुम्भो फुङ्लेङले संयुक्त आयोजना गरेका थिए । प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो।